सभामुखले निर्णय नसच्याए राजीनामा दिनुपर्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आज केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले कारबाही गरेका मान्छेलाई सभामुखले सूचना निकाल्नु भएन।

अदालतले अहिलेसम्म यो मुद्दामा फैसला दिएको छैन। यो कुराको टुंगो नलागेसम्म संसद अवरोध जारी रहन्छ।’

यस्तै संसदको अवरोध हटाउन सभामुखले माधव नेपालसहित १४ सांसदको कारवाहीको सूचना टाँस गर्नु वा गल्ती स्वीकार गरेर राजीनामा दिनुको विकल्प नरहेको उहाँको भनाइ छ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले कारवाही गरेको १४ जनालाई सँगै राखेर हामी संसद अगाडि बढ्न दिदैनौँ। अब अदालतमा पनि मुद्धा विचाराधीन छ। अदालतको फैसला जे आए पनि हामी स्वीकार गरेरै अघि बढ्छौँ’

आफ्नो पार्टीको ध्यान अहिले संसदमा भएकाले अमेरिकी परियोजना एमसिसीबारे कुनै धारणा बनाइ नसकेको उहाँले बतानुभयो । ‘सरकारले संसदमा एमसिसी पेश गरेको छैन। सरकारको तर्फबाट कस्तो प्रकृतिअनुसार आउँछ हामी हेछौँ’ उहाँको भनाइ छ।

माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा मत मिल्ने दलसँग सहकार्य हुनसक्ने भएपनि अहिलेसम्म त्यस्तो कुनै वातावरण नबनेको उहाँको भनाई छ । ‘हामी निर्वाचनपछिको मतपरिणमसँग डराउँदैनौँ। सक्रियतापूर्वक सहभागिता जनाउँछौँ। राष्ट्रियसभाको निर्वाचन आम निर्वाचनको जस्तो हुँदैन’ उहाँले भन्नुभयो ।

Back to top button