शिक्षकलाई कोरोना संक्रमण भएपछि विद्यालय एकसातालाई बिदा

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोरोना संक्रमण भएसँगै विद्यालय एकसातालाई बिदा दिइएको छ ।

ती शिक्षकलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नै विद्यालय बन्द गरिएको र पछि पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले जानकारी दिनुभएको छ ।

संक्रमित शिक्षक भने घरैमा नै आइसोलेशनमा रहनुभएको छ । अन्य २ शिक्षकमा पनि संक्रमणको आशंका गरिएपनि नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताउनुभयो ।

१० गतेपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहेमा पुनः बैठक बसेर निर्णय गर्ने विद्यालयले जनाएको छ ।

पाख्रिबास नगरपालिकाले कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिनुभएको छ ।

Back to top button