सांस्कृतिक संस्थानमा सुरु भयो‚ ‘एक चिहान’

काठमाडौं । सांस्कृतिक संस्थानले ‘एक चिहान’ उपन्यासलाई मञ्चन गरेर देखाउन थालेको छ। सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएका कृतिलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न एक उपन्यासलाई नाट्य रूपान्तरण गरी मञ्चन गरिएको हो।

त्यस्तै, काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आजबाट त्यो नाटकको मञ्चन सुरु गरिएको छ। वरिष्ठ साहित्यकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ।

सामाजिक जागरण र प्रगतिशील विचार यस उपन्यासमा रहेका छन्। सांस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरूको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गर्नुभएको छ । २०१०–११ सालको काठमाडौं उपत्यकाभित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको त्यो नाटकमा जातीय विभेद, वर्गीय विभेद र अन्धविश्वासबारे देखाइएको छ।

नाटकको अन्त्यमा त्यही समाज आदर्श उन्मुख रहेको देखाइएको छ। अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रूपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश नाटकमा देखाउन खोजिएको छ।

Back to top button