प्रदेश २ मा विवादका कारण माओवादी केन्द्रको अधिवेशनको बन्द सत्र स्थगित

सर्लाही । विवादका कारण नेकपा माओवादी केन्द्र प्रदेश– २ का प्रथम अधिवेशनको बन्दसत्र स्थगित भएको छ ।

आज सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयोे ।

प्रायः जिल्लाबाट तोकिए भन्दा बढी प्रतिनिधि आएकाले समस्या समाधान गर्न भन्दै भोली ११ बजेसम्मका लागि स्थगित गरिएको उहाँले बताउनुभयो ।

यता अधिवेशनबाट २ सय ४१ सदस्यीय प्रदेश २ समिति बनाउने गृहकार्यमा जुटेको उहाँले बताउनुभयो । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने छ ।

प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार र विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मत अनुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको उहाँले बताउनुभयो ।

भोलि हुने बन्दसत्रले २ सय ४१ सदस्यीय समिति चयन गर्नेछन् भने सो समितिको बैठकबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने माओवादी केन्द्र प्रदेश समितिले जनाएको छ ।

Back to top button