
बुटवल । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ ।
त्यस घटना शंकास्पद भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । हिजो ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
घटना रहस्यमय र शंकास्पद देखिएकोले छानविनको माग गरेको स्थानीय हिरामणी न्यौपानेले बताउनुभयो । बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।