प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ । विगतमा जस्तै आफूहरु आजका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘माधवकुमार नेपालको पार्टी अवैधानिक हो भन्ने हाम्रो मान्यता परिवर्तन भएको छैन र यससम्बन्धमा अदालत तथा संसदले पनि निर्णय गरेको छैन ।

यस्तो अवस्थामा नेकपा (एकीकृत समाजवादी) सहितको बैठकमा हामी जाने कुरा हुँदैन ।’ प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्ने छ। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारवाही प्रभावित हुँदै आएको छ।

Back to top button