भारतले हमला गरे उस्तै जवाफ दिने पाकिस्तानको चेतावनी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि हवाई हमला गरे त्यसको जवाफ उस्तै तरिकाले दिइने प्रतिक्रिया दिनुभएको छ । कतारको न्यूज च्यानल अल–जजिरालाई दिएको अन्तर्वार्तामा इमरान खानले यस्तो चेतावनी दिनुभएको हो ।

इमरान खानले भारत र पाकिस्तानबिच आणविक युद्धको सम्भावनालाई लिएर भन्नुभएको छ, ‘यदि भारतले हवाई हमला गरे उसलाई फेब्रुअरी २०१९ मा दिइएको जस्तै आक्रामक जवाफ दिइनेछ।

पछिल्लो १० वर्षमा भारत र पाकिस्तानमा आणविक बमको संख्या दोब्बर पुगेको छ। पछिल्ला वर्षमा पाकिस्तानले भारतको तुलनामा धेरै आणविक बम उत्पादन गरेको छ।

स्विडेनी संस्था स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटले विश्वमा हतियारको स्थिति र विश्वव्यापी सुरक्षाको विश्लेषण गरेर २०१९ को प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ ।

इन्स्टिच्युटको आणविक निशस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसार कार्यक्रमका निर्देशक श्यानन काइलले विश्वमा आणविक हतियारको समग्र उत्पादनमा कमी आए पनि दक्षिण एसियामा बढ्दै गएको बताउनुभएको छ ।

२००९ मा पाकिस्तानसँग ६० आणविक बम थिए भने भारतसँग ६०–७० आणविक बम थिए। काइलले पाकिस्तानसँग अहिले भारतभन्दा धेरै आणविक बम रहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

विभिन्न स्रोतबाट प्राप्त जानकारीका आधारमा भारतसँग अहिले १ सय ३० देखि १ सय ४० आणविक बम छन् भने पाकिस्तानसँग १ सय ५० देखि १ सय ६० आणविक बम छन्। काइलले अहिले भारत र पाकिस्तानबीचको तनाव चरम रहेको र यसले परमाणु बमको संख्या बढ्दै गएको बताउनुभएको छ ।

Back to top button