प्रधानमन्त्री कप महिला क्रिकेटः लुम्बिनीको लगातार दोस्रो जीत

धनगढी । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। आजको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल यात्राको सम्भावना बलियो बनाएको छ ।

फाप्ला मैदानको आउटफिल्ड गिलो हुँदा ६ ओभरमा झारिएको खेलमा लुम्बिनीले सहज जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १७ रन मात्र जोड्न सफल भयो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ३ दशमलव१ ओभरमा नै बिना विकेट लक्ष्य पूरा गर्‍यो । उसका लागि लक्ष्मी चौधरी १२ रनमा अविजित रहँदा नेरी थापा ५ रन बनाएर क्रिजमा रहिन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको कर्णालीका लागि आयुषा टण्डन र दीक्षा पुरीको ७(७ रन सर्वाधिक रह्यो। कर्णालीका कुनै पनि ब्याट्सम्यानको प्रदर्शन गतिलो रहन सकेन।जितसँगै लुम्बिनीले दुई खेलमा चार अंक बनाउँदै समूह एको शीर्ष स्थानमा रहेको छ।

Back to top button