सिरहामा दुई युवा समूहबिच छुरा हानाहान, एकजनाको मृत्यु एक घाइते

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ मा गएराती युवाहरुको समूहबीच सामान्य विवादमा छुरा हानाहान हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते छन् ।

छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो । छातीमा छुरा लागेका सदायलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक सदायकै समूहका १९ वर्षीय रितेश सदाय गम्भीर घाइते भएको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनाको बिषयलाई लिएर आज डोहटिया टोलका बासिन्दाले गोलबजारमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । विरोध प्रदर्शनपछि पीडित पक्ष र स्थानीयबीच दोषीलाई २४ घण्टाभित्र कारवाही, घाइतेलाई उपचार र मृतक परिवारलाई पूर्ति उपलब्ध गराउने सहमति भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button