भारतीय नागरिकलाई रानी नाकामा खोप कार्ड देखाएर मात्रै प्रवेश

विराटनगर । विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।

रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ अशिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताउनुभयो । ‘स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएका छौं,’ उहाँले भन्नुभयो, ‘पछिल्लो एक हप्तामा भारतको मदरासबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।’

कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई रेडक्रशको एम्बुलेन्समा कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाउने गरेको यादवले बताए । उपचार केन्द्रमा भर्ना हुन नचाहनेलाई कागज गराएर निजी गाडीमा होम आइसोलेशनमा पठाउने गरेको उहाँको भनाई छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले रानी नाकामा भारतबाट आउने प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताए । ‘भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेका छौं,’ उहाँले भन्नुभयो, ‘प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्थानीय तहहरुमार्फत जनचेतना अभियान सञ्चालनको व्यवस्था गरेका छौं ।’ यसका साथै जिल्लावासीलाई खोप लगाउने व्यवस्थाका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

प्रजिअ दाहालले रंगेली नाकामा पनि हेल्थ डेस्क राख्नका लागि संघीय र प्रदेश सरकारसँग पहल गरिरहेको बताउनुभयो । उहाँले रंगेली नाकाबाट पनि सर्वसाधारणको भारत आउजाउ बाक्लो नै रहेकोले हेल्थ डेस्क आवश्यक भएको बताउनुभयो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेशभरिका मुख्य नाकाहरुमा स्वास्थ्य जाँच गरेर मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जनचेतना अघिवृद्धिका साथै खोपको व्यवस्थापनमा जुटेको बताउनुभयो । खोप स्टोर गर्ने कोल्ड चेन ५० हजार मात्रै क्षमता भएकोले क्षमता बढाउनका लागि पहल भइरहेको उहाँको भनाई थियो ।

Back to top button