त्रिविमा देखिएको समस्या समाधान गर्न पहल हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सहउपकुलपति देवेन्द्र पौडेलले त्रिविमा देखिएको समस्याको समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।

आज त्रिविको परीक्षा नियन्त्रण कार्यालय प्राङ्गणमा भएको ४७ औँ दिक्षान्त समारोहमा उहाँले गम्भीर रुपमा समस्यालाई लिएको बताउनुभएको छ ।

कार्यक्रममा उहाँले त्रिविमा रहेका समस्या, समस्या उत्पन्न हुनुको कारण र समाधानका सम्भावनाको विषयमा विभिन्न पक्ष र श्रोतबाट आफूलाई जानकारी भएको भन्दै शिक्षामन्त्री पौडेलले समस्यालाई समाधान गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

त्रिविले नेपालको उच्च शिक्षाको आर्थिक, सामाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै मन्त्री पौडेलले अझै थप प्रभावकारी र सशक्त बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले वर्षैपिच्छे उच्च शिक्षा अध्ययन गर्न विदेशिने हजारौँ विद्यार्थीहरूलाई नेपालमै चाहेको विषय र चाहेको गुणस्तरको विद्या पहिचान गरी आगामी दिनमा त्यसलाई योजनाबद्ध रुपमा कार्यान्वयनमा लगिने बताउनुभयो ।

उहाँले भूकम्पले भत्काएका क्याम्पस यतिका वर्षसम्म पनि अझै पुनर्निर्माण नभएको भन्दै सरकारसँग प्राथमिकतामा राखेर निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँका अनुसार २०७७ साल असार १ गतेदेखि २०७८ साल जेष्ठ ३२ गतेसम्म ट्रान्सकृप्ट लिई ५९ औँ ग्रेस लिष्टमा समावेश भएका विद्यावारिधी, डिएम, एमसिएच, दर्शनशास्त्री, स्नातकोत्तर र स्नातक तहका गरी कूल २९ हजार ७ सय २९ जना विधार्थी समारोहमार्फत दिक्षित भएका छन्।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिक्षित भएको घोषणा गर्दै उत्कृष्ट नतिजा ल्याउनेलाई प्रमाणपत्र वितरण गर्नुभएको छ ।

Back to top button