ओलीले गठबन्धन फुटाएर विभिन्न चालबाजी गर्न खोजिरहेका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको आरोप लगाउनुभएको छ ।

समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताउनुभयो ।

उहाँले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासँग छलफल भइरहेको बताउनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गरेको प्रचण्डको भनाई छ । उहाँले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धमा लड्न प्रेरणा मिलिरहेको समेत बताउनुभयो ।

Back to top button