
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ ।
जनकपुरमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताउनुभएको हो ।
एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको समेत स्मरण गराउनुभयो । उहाँले भन्नुभयो,‘ नेपाल सरकार र एमसीसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको हो।
त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो।’ गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निःशर्त अनुदान भएको प्रष्ट्याउनुभयो ।
सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उहाँको भनाई छ ।
उहाँले एमसीसीलाई पास गर्ने बिषयमा दलहरूबिचमा छलफल भइराखेको भन्दै छलफलबाट निष्कर्ष निस्किने र अगाडी बढ्ने बताउनुभयो ।