क्यान र खेलाडि विवादले बन्द प्रशिक्षण प्रभावित

काठमाडौं । नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई अनुशासनको कारवाही गरेपछिको विवादका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित बन्न पुगेको छ ।

निर्धारित कार्यतालिकाअनुसार आजदेखि पोखरामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुनुपर्ने थियो। तर मल्लसहितका खेलाडीमाथि क्यानले गरेका कारवाहीका कारण उत्पन्न विवादले प्रशिक्षण प्रभावित भएको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने प्रशिक्षक पुबुदु दासानायके आइनपुगेकाले निर्धारित समयमा बन्द प्रशिक्षण सुरु गर्न नसकिएको बताउनुभएको छ ।

उहाँले सबै तयारी पुरा भइसकेको भन्दै आउँदो शनिबारसम्ममा दासानायके आइपुग्ने र बन्द प्रशिक्षण सुरु हुने बताउनुभएको छ । तर सामान्य अवस्थामा मुख्य प्रशिक्षक नभए पनि बन्द प्रशिक्षण भने चल्ने गर्दछ ।

क्यानले हालै मल्ललाई कारवाही गर्दै कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको थियो। कारवाहीमा परेका मल्लसहितका चार खेलाडीको समर्थनमा अरु खेलाडी पनि देखिएका छन्।

नेपालले आउँदो फेब्रुअरीमा ट्वेन्टी ट्वेन्टी विश्वकपको विश्वस्तरीय छनोट तथा आइसिसी विश्वकप लिग दुईमा प्रतिस्पर्धा गर्दैछ। त्यसका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण तय गरिएको हो ।

यसैबीच खेलकुदमन्त्री महेश्वरजंग गहतराजले हिजो खेलाडीहरुसँग छलफल गर्नुभएको छ । उहाँले हालको विवादलाई लिएर चासो व्यक्त गरी खेलाडीसँग छलफल गर्नुभएको हो ।

Back to top button