
बिर्तामोड । नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका–१३ चारआली जङ्गलबाट एउटा भरुवा बन्दुक, बारुद सहित खुकुरी बरामद गरेको छ ।
नेपाली सेनाको नयाँ श्रीनाथ गणदेखि ५ सय मिटर दक्षिणतर्फको जंगल क्षेत्रभित्र दुई जना व्यक्ति बसिरहेको देखेपछि सेनाको गस्ती टोली त्यहाँ पुगेको थियो ।
सेनालाई देखेपछि ती व्यक्ति त्यहाँबाट भागेको र घटनास्थलबाट बारुद लोड गरिएको एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरिने दुई थान सिसाका डल्ला, एउटा खुकुरी, बारुद दुई पोका, सलाई र कम्मर पेटी बरामद गरिएको नयाँ श्रीनाथ गण प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिनुभएको छ ।
सेनालाई देखेपछि बन्दुकसहितको सामान झाडीमा फालेर ती व्यक्तिहरू भाग्न सफल भएको प्रमुख सेनानी थापाले बताउनुभयो । ब्यारेकभित्रै बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जङ्गलभित्र गस्ती बढाएको छ । जङ्गलमा शिकार खेल्न हातहतियारसहित सिकारी आउने गरेको र भागेका व्यक्ति पनि सिकारी नै भएको सेनाले आशंका गरेको छ ।