साफमा उपविजेता बनेको टिमले पायो नगद पुरस्कार

काठमाडौं । गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले घोषणा गरेको नगद पुरस्कार हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकलाई नगद हस्तान्तरण गर्नुभएको हो ।

कात्तिक १ मा बसेको मन्त्रिपरिषद् बैठकले साफ उपविजेता टोलीका सबै सदस्यलाई जनही ५ लाख र प्रशिक्षण टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो।

माल्दिभ्समा सम्पन्न साफमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाए पनि उपाधि होडमा भने भारतसँग नेपाल पराजित भएको थियो।

यस्तो थियो नेपाली टिम

पुरस्कार पाउने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुमन अर्याल र गौतम श्रेष्ठ रहनुभएको छ ।

यस्तै‚ सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा हुनुहुन्छ ।

प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहनुभएको छ । टिमको फिजियोमा अविष्कार पुडासैनी र टिम व्यवस्थापकमा मधुशुदन उपाध्याय रहनुभएको थियो ।

Back to top button