ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

विर्तामोड । ट्रकको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० निवासी ४० वर्षीय यामनाथ राय रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार हिजो राति ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१ मा मे १ ख १९५२ नम्बरको ट्रकले सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते रायलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारको क्रममा आज बिहान पौने ४ बजे मृत्यु भएको थियो।

यस्तै, इलाका प्रहरी कार्यालय अनारमनिले ट्रक र चालक इलामको सन्दकपुर गाउँपालिका–३ का रोशन लिम्बुलाई नियन्त्रणमा लिएको छ।

Back to top button