हाम्रो प्रधान शत्रु नै नेकपा एमाले हो : माधवकुमार नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यतिबेला ठूलो सत्रु र प्रतिद्वन्द्वी भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ ।

आज गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीमा रुपान्तरण भएको कथित् एमाले‘ नै हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ ।’

उहाँले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको भन्दै एकिकृत समाजवादी भने त्योभन्दा फरक हुनुपर्ने बताउनुभयो । यस्तै एकिकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविपरीतको काम गरिरहेको आरोप लगाउनुभएको छ ।

संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उहाँले संसदीय मर्यादा पालना गर भनेर के गर्नु उनीहरुले नै मर्यादा पालना नगरेको टिप्पणी गर्नुभयो । नेता नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो नै गएको बताउनुभएको छ ।

आफू अनुपस्थित रहेको मौका छोपेर ओली संसद छिर्न बेर लाग्दैन भन्ने कटाक्ष गर्दै अध्यक्ष नेपालले कमसेकम आफ्नो उपस्थितीले सातो जानु राम्रो भएको बताउनुभयो । १ घन्टाभन्दा बढी प्रशिक्षणात्मक भाषण दिनुभएका नेता नेपालले आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिनुभयो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाट सत्रमा एमाले अध्यक्ष ओलीले आफूलाई हेरेको समेत चर्चा गर्दै भन्नुभयो, ‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो । रमाइलो भयो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको बताउनुभयो । ओली सरकारले संविधान विपरीत काम गरेकाले सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उहाँले बताउनुभयो ।

Back to top button