मिलन पाण्डेलाई विवेकशील साझा पार्टीबाट निष्काशित, पाण्डेले बनाए समानान्तर कमिटी

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।

पार्टीमा गम्भीर क्षति पुर्‍याउने गरी बदनीयतपूर्ण ढंगले पार्टी विधान र केन्द्रीय कमिटीका निर्णयहरु विपरीत निरन्तर गतिविधि गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको विवेकशील साझाले जनाएको छ।

पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण गरिएकोमा एक दिन ढिलो जवाफ दिएको र सोधिएका प्रश्नको पनि चित्तबुझ्दो जवाफ नआएको हुँदा कारबाही गरिएको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले बताउनुभएको छ ।

‘तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ,’ अध्यक्ष मिश्रले भन्नुभएको छ, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१)१०को अधिकार प्रयोग गर्दै तपाईंलाई आजैको मितिदेखि लागु हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरिएको छ ।’

यसैबिच, विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अलग्गै केन्द्रीय समिति घोषणा गर्नुभएको छ । पाण्डेले आजै २०१ सदस्यीय समानान्तर समिति घोषणा गर्नुभएको हो । पाण्डेले विज्ञप्ति जारी गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ केन्द्रीय समिति नाम दिनुभएको छ ।

पार्टीको हालको १ सय ३० सदस्यीय केन्द्रीय समितिलाई यथावत् राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को तपसिलबमोजिमको केन्द्रीय समिति घोषणा गरेका छौं’, पाण्डेको विज्ञप्तिमा भनिएको छ ।

Back to top button