चर्को शुल्क लिने नोबेल मेडिकल कलेज प्रति आक्रामक सिडीओे,पठन पाठन सुरु गर्न निर्देशन

विराटनगर । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहाल आक्रमक रूपमा प्रस्तुत हुनुभएको छ ।

विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा आउन उहाँले हिजो निर्देशन सहितको पत्र पठाएका मेडिकल कलेजलाई पठाउनु भएको थियो । मंगलवार बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा अभिभावक, नोबेल मेडिकल शिक्षण अस्पतालका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय मोरङ बीचको छलफलमा सीडीओ दाहाल आक्रामक रूपमा प्रस्तुत हुनु भएको छ ।

अतिरिक्त शुल्क लिनुका कारण खुल्ने कागज ल्याउन भने पनि नोबेलका प्रतिनिधिले कागजात नलगेपछि उहाँ आक्रामक बन्नु भएको हो । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क किन लिएको भनेर सोध्दा नोबेलका प्रतिनिधिले ‘हामी कर्मचारी मात्रै हौं’ भन्दै कुनै जवाफ नदिए पछि सिडीयो साव एक्कासी झोकिनु भयो छलफलमा सहभागि एक अभिभावकले बताउनु भयो ।

कर्मचारीले जवाफ नदिएपछि सीडीओ दाहालले मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई फोन फोन गर्नु भएको थियो । टेलिफोन संवादमा शर्माले अतिरिक्त शुल्क नलिए पढाउन नसक्ने जवाफ दिएको छलफलमा सहभागि अभिभावकहरुले बताएका छन् । नाम नखुलाउने शर्तमा एक अभिभावकले भन्नुभयो संचालक शर्माले सीडीओ दाहाललाई ‘तपाईं आएर मेरो कलेज चलाइदिनुहोस’ भनेर समेत भन्नु भयो ।
संवादमा सीडीओले पठनपाठन तुरुन्त शुरू गर्न निर्देशन समते दिनु भएको थियो । तर शर्माले सीडीओलाई पढाउने नसक्ने बरु पक्राउ पुर्जी जारी गर्न चुनौती दिनुभएको थियो ।

सीडीओ दाहालले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई समेत फोन गरेर प्रतिनिधिलाई शिक्षा आयोगले तोकेको मूल्यबारे जानकारी गराउनु भएको थियो । छलफलमा नोबेल मेडिकल कलेजले लिने भनिएको इन्टर्नशिप बापतको शुल्क २ लाख ४० हजार नलिने सहमति भने भएको सीडीओ दाहालले बताउनु भयो ।
होस्टल बसाइलाई अनिवार्य नगर्ने, होस्टल शुल्क परिमार्जन गरी घटाउने विषयमा भने सहमति भएको छैन । शर्माले सीडीओ दाहाललाई करोडौं लगाएर होस्टेल बनाएको भन्दै होस्टल नचल्दा घाटा हुने समेत बताउनु भएको थियो ।
विश्वविद्यालय सम्बन्धन शुल्क ९८ हजार रूपैयाँबारे चिकित्सा शिक्षा आयोगबाट निर्देशन भए तिर्न अभिभावक सहमत भएका छन् ।

चालू शैक्षिक सत्रको कक्षा पुस ११ गतेदेखि संचालन गर्ने निर्णय भए पनि मेडिकल कलेजका प्रतिनिधि निर्णयमा हस्ताक्षर नगरी बाहिरिएका छन् । आफूहरू कर्मचारी मात्रै भएको भन्दै कर्मचारीहरु त्रिपक्षीय छलफलको निर्णयमा हस्ताक्षर नगरी निस्केका हुन् ।

छलफलमा मेडिकल कलेजको तर्फबाट अर्जुन थापा, दिपेश राई, नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ शुरू गर्ने बताएपछि विद्यार्थी र अभिभावक आन्दोलित बनेका छन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झण्डै ५ लाख रुपैयाँ बढी मागेपछि अभिभावक समेत आन्दोलित बनेका छन् । कलेजले आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिँदै आएको अभिभावकको भनाइ छ ।

कलेजले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्टर्नशिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार, होस्टेल शुल्क १ लाख ४४ हजार रुपैयाँ बुझाउन दबाब दिँदै आएको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि जम्मा कूल रकम ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्ष १४ लाख ७८ हजार ६७५ रुपैयाँ अभिभावकले बुझाएका छन् ।

चिकित्सा शिक्षा आयोगले पुस ५ गते एक सूचना जारी गर्दै होस्टल विद्यार्थीको ऐच्छिक विषय हुने जनाइसकेको छ ।

Back to top button