बागमती प्रदेश सभाको बैठक आज बस्दै

हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशनको बैठक करिव डेढ महिनापछि आज बस्न लागेको हो।

प्रदेशसभाको नवौं अधिवेशनको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने छ। बुधबार बस्ने प्रदेशसभा बैठकमा विषयगत समितिहरुमा रहेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिहरुले बैठकमा पेस गर्ने सम्भावित कार्यसुची रहेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितीको प्रमुख अम्विका घिमिरेले बताउनु भयो। घिमिरेले यसअघि नै संसदमा पेस भइसकेको केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकलाई बैठकले समितिमा पठाउन सक्ने पनि बताउनु भयो ।

बागमती प्रदेशसभा एक वर्षदेखि बिजनेस विहीन छ। एक वर्षको समयावधिमा ३ वटा सरकार परिवर्तन भएपनि  प्रदेश सभालाई बिजनेस दिन सकेका छैनन्।

पछिल्लो एक वर्षदेखि बागमती प्रदेशसभा बैठक बजेट  पारित गर्न, विश्वासको मत लिन र पुराना ऐनलाई संशोधन मात्रै बसेको छ।

Back to top button