वित्तीय तरलताले गर्दा उद्योगी व्यवसायी मर्कामा, गभर्नरको ध्यानाकर्षण

विराटनगर । उद्योग संगठन मोरङले वित्तीय क्षेत्रमा देखिएको तरलता अभावबाट उद्योग व्यवसाय मर्कामा परेको छ।

संगठनका अध्यक्ष सुयष प्याकुरेलले तरलता अभावका कारण उद्योग क्षेत्रमा देखिएको समस्या निराकरणका लागि हिजो नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।

बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई तरलता अभावको समस्या समाधानका लागि संगठनले विभिन्न बुदाँसहित ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तरलता अभावका कारण पछिल्लो समय औद्योगिक कच्चापदार्थ आयातका लागि प्रतितपत्र खोल्नसमेत कठिनाइ भएको छ। जसका कारण कच्चापदार्थको अभावमा उत्पादनमा समेत असर पुगिरहेको छ ।

यस्तै, ‘विगतबाट उठाउँदै आएको कर्जाको ब्याजदर एक अंकमा नबढ्ने गरी कायम गर्नुपर्ने, पुनर्कर्जा तथा विभिन्न शीर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जाअन्तर्गतका सुविधामूलक कर्जाहरुलाई सहज र द्रुतगतिमा प्रवाह गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरेका छौं’, अध्यक्ष प्याकुरेलले भन्नुभयो।

यसक्रममा गभर्ननर अधिकारीले औद्योगिक कच्चापदार्थलगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतितपत्र खोल्न कुनै कठिनाइ आउन नदिने प्रतिबद्धता जाहेर गनुभएको थियो । विलासिताका केही वस्तुको आयातलाई निरुत्साहित गर्ने र त्यसबाट उत्पन्न हुन सक्ने परिणामबारे बैंक सचेत रहेको गभर्नर अधिकारीले बताउनुभयो ।

अहिलेको अवस्थामा देखिएको वित्तीय तरलता अभावबाट अर्थतन्त्र जोगाउन बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गरी तरलता पठाइरहेको हुँदा क्रमशः त्यसमा सुधार हुने अपेक्षा अधिकारीले गर्नुभएको थियो ।

Back to top button