त्रिविको चेतावनी, राजनितिक दलको उम्मेदवार तथा प्रतिनिधि बने कारबाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा उत्रिएपछि त्रिभुवन विश्वविद्यालयले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो ।

‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानूनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी निर्वाचन वा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीति दलसम्बन्धी ऐनविपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुन सूचित गरिन्छ,’ प्रकाशित सूचनामा उल्लेख छ ।

अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुनआए त्रिवि नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । त्रिविले राष्ट्रिय वा स्थानीय तहका कुनै राजनीतिक निर्वाचनमा उम्मेदवार वा प्रतिनिधि नबन्न भनेको छ।

Back to top button