बागमती प्रदेशसभाको बैठक आजै बस्ने, मुख्यमन्त्रीले जवाफ दिने

हेटौंडा । अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बागमती प्रदेशको प्रदेशसभा बैठक पुनः आजै बस्ने भएको छ। बिहान बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको थियो।

एमालेले उठाएको प्रश्नको जवाफ बिहान बसेको सदनमा मुख्यमन्त्रीले दिने बताइएको थियो । तर बैठकमा मुख्यमन्त्री नै उपस्थित नभएपछि एमालेले बैठक अवरुद्व पारेको थियो ।

एमालेको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे संसद पुग्नुभएको थियो ।

करिब एक घण्टा सभामुख श्रेष्ठसँगको छलफल पछि प्रदेशसभाको अर्को बैठक आजै दिउँसो २ बजेका लागि बोलाइएको छ । सभामुख श्रेष्ठ र मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच सदनमा जवाफ दिने विषयमा छलफल भएसँगै प्रदेशसभाको बैठक बोलाइएको बताइएको छ ।

प्रदेशमा रहेको एमालेसहितको प्रतिपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती चुनौती दिएका छन्।

Back to top button