शोभराजको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गर्नुभएको छ ।

नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिट निवेदन आजका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको थियो ।

कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ । तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै छ ।

शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन् । विगतमा पनि असल चालचलन भएको विदेशी नागरिकलाई समेत उक्त सुविधा दिइएको भन्दै आफूले पनि उक्त सुविधा पाउनुपर्ने शोभराजले जिकिर गर्नुभएको छ । तर कारागार प्रशासनले भने कर्तव्य ज्यान मुद्दामा कुनै त्यस्तो नजिर नभेटिएको बताउँदै आएको छ ।

आफू ७० लागेपछि शोभराजले कैद मिनाहाका लागि पटक– पटक निवेदन दिनुभएको छ । ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरक–फरक मुद्दामा काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । ‘शोभराजविरुद्ध नेपालबाहेक भारत, थाइल्यान्ड, टर्की, ईरानलगायतका देशमा २० जनाभन्दा बढीको हत्या गरेको अभियोग छ ।

Back to top button