
काठमाडौं । बंगलादेशको ढाकामा आजदेखि सुरु भएको एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ।
साविक च्याम्पियन नेपालले श्रीलंकाविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो। श्रीलंकाविरुद्ध सुरुवाती २ सेट गुमाएको नेपालले सानदार पुनरागमन गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा शुरुवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट नै आफ्नो पक्षमा पार्यो।
यस्तै,पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो। तर नेपालले तेस्रो सेटमा खेल आफ्नो पक्षमा पार्यो। सहज रूपमा जित निकाल्ने क्रममा नेपालले २५(१५ को सेटमा जित निकाल्यो। चौथो सेटमापनि खेल आफ्नो पक्षमा पार्ने क्रममा नेपालले २५–१९ को नतिजा निकाल्दै फाइनल सेटसम्म खेल पुगेको थियो।
अन्तिम तथा फाइनल सेटमा नेपालले १५–१३ ले खेल आफ्नो पक्षमा पार्यो। रोमाञ्चक र प्रतिस्पर्धात्मक एक समय १३–९ ले अग्रता बनाएको नेपाल पुनः १३–१३ मा पुगेको थियो।
त्यसपछि भने नेपालले लगातार अंक हासिल गर्दै जित निकाल्यो। अब नेपाली महिला टोलीले २४ डिसेम्बरमा माल्दिभ्ससँग खेल्नेछन्।