यो सरकार जनताले बनाएको हैन, प्रतिक्रियाबादीले बनाएको होः ओली

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताउनुभएको छ ।

आज पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले जनताले बनाएको सरकार यो नभएको बताउनुभयो । जनताले अहिलेको यो सरकार बनाएकै होइन, प्रतिक्रियावादीहरुले बनाइदिएको हो भन्दै अध्यक्ष ओलीले त्यही भएर यो सरकार विस्थापन गर्न नयाँ जनादेशमा जानुपर्ने आफुले भन्दै आएको स्मरण गराउनुभयो ।

गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै उहाँले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘आयात बढेको बढ्यै छ । भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिवीतिर लैजाँदै छ ।’

विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको भन्दै उहाँले एमालेकै पालामा जेष्ठ नागरिकहरुको हेरविचार र सम्मान गर्ने योजनाअनुसार ५१ सालबाट एक सयका दरले जेष्ठ नागरिक भत्ता दिन सुरु गरेको स्मरण गर्दै भन्नुभयो, त्यहि भत्ता अहिले मासिक ४ हजार रुपैयाँ घरमै पुग्ने गरेको छ ।

यसैबिच एमाले अध्यक्ष ओलीलाई एमाले जिल्ला समिति पर्साले १ सय ५१ किलोको माला लगाएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

Back to top button