
विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा कर्मचारीलगायतको मिलेमतोमा १६ करोड रुपैयाँ हिनामिना भएको छ । बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा उक्त रकम हिनामिना भएको हो । बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
बैंककै एक कर्मचारीले गोप्य रुपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको बारे उजुरी गरेका थिए । राष्ट्र बैंकले उक्त आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेपछि जानकारी पाएको बैंकका सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन बरालले बताउनुभयो ।
‘नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि तत्काल आन्तरिक छानबिन गर्दा जेनेरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईको आर्थिक हिनामिनामा संलग्नता देखिएपछि राष्ट्र बैंक र जिल्ला प्रहरी मोरङमा उजुरी दियौं,’ उहाँले भन्नुभयो, ‘अहिले प्रहरी, सिआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्रै के कति रकम, कसरी हिनामिना भएको वास्तविकता बाहिर आउँछ ।’
बैंकले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मंसिर १९ गते नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र अनुसन्धानपछि बैंकिङ्ग कसुर मुद्दा दर्ता गरेर कारबाही अघि बढाउने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सिआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । विभागको टोलीले बुधबार बैंकको सुपरीवेक्षण गर्नुका साथै अनुसन्धानका लागि आवश्यक जानकारी लिएको हो ।
पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको अध्यक्ष बरालले बताउनुभयो ।
भट्टराईको एकलो प्रयासमा यति ठूलो रकम हिनामिना हुन नसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुनुहुन्छ । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालिन अध्यक्ष तारानाथ निरौलालाई हटाएर मंसिर १ गतेदेखि स्वतन्त्र सञ्चालक बराललाई अध्यक्षको जिम्मेबारी दिइएको छ । यसरी हेर्दा उक्त रकम हिनामिनामा बैंकका अध्यक्ष निरौला, सिईओ सुवेदीको समेत संलग्नता हुन सक्ने प्रहरी अधिकृतले बताए । त्यसैले बिभिन्न दृष्टिकोणबाट आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय रहेका छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ ।
बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने बताउनुभयो । उहाँले आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुल उपर गरेपछि त्यो परिपुर्ति हुने दावी गर्नुभयो ।