माल्दिभ्सलाई सहज सेटमा हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसीपमा नेपाली महिला राष्ट्रिय भलिबल टीमले लगातार दोस्रो खेलमा जित निकालेको छ।

आज ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालविरुद्ध निरिह देखिएको माल्दिभ्स कुनै पनि समय खेलमा फर्कन सकेन ।

माल्दिभसविरुद्ध नेपालले २५–११, २५–९ र २५–५ को सहज सेटमा जित निकालेको हो । आफ्नो पहिलो खेलमा नेपालले हिजो श्रीलंकालाई पराजित गरेको थियो। नेपाली महिला टिमले सुरुवातबाटै माल्दिभ्सलाई दबाबमा राखेको थियो।

पहिलो खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धात्मक ३–२ को जित निकालेको नेपाल दोस्रो खेलमा सहज जितसँगै ५ अंक बनाउन सफल भएको छ ।

लगातार दुई जितले नेपालको फाइनलसम्मको यात्राको सम्भावना बलियो बनेको छ। ६ टिम सहभागी प्रतियोगितामा नेपालले भोली घरेलु टोली बंगलादेशको सामना गर्नेछ।

Back to top button