क्रिसमसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेका अवसरमा भोलि सार्वजनिक विदा दिइने बताउनुभयो ।

यस्तै सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाँकसेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताउनुभएको छ ।

Back to top button