राजनितिक दलहरुबीचको मतभेद निरुपण गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताउनुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा राष्ट्रपति भण्डारीले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सामाजिक, आर्थिक रुपान्तरणका लागि राजनीतिक दलहरूबीचको मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियताको मर्मलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको संरक्षण र कार्यान्वयनबाट मात्रै स्थायित्व प्राप्त गर्न सकिने बताउनुभयो ।

उहाँले राजनीतिक दलहरूबीचका सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरुपण गर्दै गणतन्त्रलाई तदनुरुपको आचरणद्वारा राम्रो जीवनशैलीमा रुपान्तरण गर्न आवश्यक रहेको औल्याउनुभएको छ ।

समाजको अग्रगामी परिवर्तनका लागि जनताको जीवनस्तर उठाउन आवश्यक छ भन्दै राष्ट्रपति भण्डारीले कृषि उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशी, डा. मिना आचार्य, प्राज्ञ गोपीरमण उपाध्याय, प्रा.डा. राजेश गौतम, प्रा.डा. सुरेन्द्र केसीलगायतलाई सम्मान गर्नुभएको छ ।

Back to top button