१४औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ।

आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभएको छ ।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १ सय ३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । यसबाहेक नयाँ विधानअनुसार केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्न बाँकी छ।

निर्वाचितभएको प्रमाण पत्र वितरणका लागि सबै पदाधिकारी र सदस्यलाई खबर गरिसकिएको र उक्त कार्यक्रमपछि पार्टी कार्यालयको ठूलो हलमा नै केन्द्रीय कार्यसमिति बैठक बस्ने रिजालले बताउनुभयो ।

बैठकमा सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ। कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताउनुभयो ।

Back to top button