जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा आज सेमिफाइनल र फाइनलका खेल हुने

विराटनगर । विराटनगरमा ‘प्रथम जिल्लास्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता अन्तर्गत आज सेमिफाइनल र फाइनलका खेल हुँदैछन् । हिजो शुरु भएको प्रतियोगिता आज सम्पन्न हुने छ ।

विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत हिजो पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा बेलबारीका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडीले आयोजक क्लब विराटका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडीसँग तथा विराटका उत्तम सिम्खडा र मिलन नेम्वाङको जोडीले बेलबारीका अर्जुन कार्की र विष्णु आचार्यको जोडीसँग सेमिफाइनल खेल खेल्ने छ ।

त्यस्तै मेन्स डबलतर्फ बेलबारीका नवीन राई र हेम गुरुङको जोडीले राजधानी युवा क्लबका अजय चौधरी र शशी चौधरीको जोडीसँग तथा विराटका भोजबहादुर गुरुङ र उत्तम सिम्खडाको जोडीले बेलबारीको ज्योती हाङ राई र लाक्पा शेर्पाको जोडीसँग सेमिफाइनल खेल खेल्ने छन् ।

क्लबकै आफ्नो कभर्ड हलमा पुस ९ र १० गते (अर्थात, हिजो र आज ) दुई दिने प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ ।

जसमा बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकले भाग लिएका छन् । प्रतियोगितामा मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका छन् ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गर्नुभएको थियो । प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन् ।

खेलको मुख्य प्रायोजक रहेका अर्जुन तुम्रोक, दुर्गाप्रसाद तुम्रोक र ताराकुमार तुम्रोकले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष समशेर राईले जानकारी दिनुभयो ।

Back to top button