नेपाली कांग्रेस प्रदेश २ अधिवेशनः पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको जारी

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह १ हजार १९ र चन्द्रशेखर यादव ८ सय ९५ मत ल्याएर विजयी हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७ सय ४० र धनलाल ठोकरले ६ सय ३६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। महामन्त्रीमा उपेन्द्रकुमार यादव ९ सय ५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७ सय ८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नरेश यादवले ७ सय ७५ र हरेशप्रसाद महतोले ७ सय ३ मत प्राप्त गर्नुभएको छ ।

सहमहामन्त्रीमा जयनारायण यादव ८ सय ७९ र परशुराम चौधरीले ८ सय २२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी विनोद कुमार यादवले ६ सय ९१ र नारायण चौधरीले ६ सय १ मत प्राप्त गर्नुभएको छ ।

सह–महामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव ८ सय ८९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिष्पर्धि भिमादेवी शर्माले ५ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसक्नुभएको छ । यादव ९ सय ९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो भने रामसरोज यादवले ८ सय ५५ मत प्राप्त गर्दै पराजित हुनुभएको छ ।

प्रदेश समितिका सदस्य पदको भने मतगणना भइरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९ सय ५१ मतदाता मध्ये १ हजार ८ सय ८१ ले मतदान गरेका थिए ।

Back to top button