प्रदेश १ मा ३१ लाखले लगाए कोरोना खोप

विराटनगर । भारतमा फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियेण्ट प्रदेश १ मा फैलिन नदिन प्रदेशस्थित सीमावर्ति नाकामा स्थानीय प्रशासनले कडाई गरेका छन् । विराटनगरस्थित रानी, झापाको काँकडभिटा, इलामको पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई स्थानीय प्रशासनले खोप कार्ड अनिवार्य गरेको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।

नकास्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणका क्रममा संक्रमण पुष्टि भएका व्यक्तिलाई कोभिड अस्पताल, आइसोलेसनमा राखेर उपचारको व्यवस्था मिलाइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताउनुभयो । प्रदेश १ मा अहिले दैनिक २० जनासम्म कोरोना संक्रमित थपिँदै आएका छन् ।

प्रदेश १ मा हालसम्ममा ३० लाख ९५ हजार ५५ जनालाई कोरोना खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखाका सागर प्रसाईका अनुसार प्रदेशमा १८ वर्षमाथिका ३२ लाख ७५ हजार ८ सय ६६ जनालाई कोरोना खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

Back to top button