सदनमा एमालेको अवरोध चुनावसम्म : अध्यक्ष केपी ओली (भिडीयोसहित)

विराटनगर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अबरोध चुनावसम्म रहने बताउनुभयो । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरुले सदनमा अवरोध गर्दै आएका हुन् ।

विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनाव हुनुपर्ने आफूहरुको भनाइ रहेको बताउनुभयो । ‘अर्ली इलेक्शन भए पनि नभए पनि इलेक्शन हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘इलेक्शन भएपछि धोपीपाट लगाइन्छ ।’

सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाई थियो । ‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सक्नु भएको छैन,’ उहाँले भन्नुभयो, ‘व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि ।’

गठबन्धन दलभित्रका पार्टीहरुको एमसीसीको बारेमा आ–आफ्ना छुट्टै नीति भएकोले यो कस्तो गठबन्धन भन्दै अध्यक्ष ओली प्रश्न गर्नुभयो । उहाँले एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरुले केही बोल्ने बताउनुभयो ।

उहाँले सत्तारुढ दलको गठबन्धन नभत्कियोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले सरकारले आफूहरुले पार्टीबाट निकालेका मान्छेहरु राखेर बोलाउने सर्वदलीय बैठकमा नजाने प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले तत्कालिन राजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २०६० साल पुस १८ गते सम्झौता भएको विषयमा दाहालले सम्बन्धै छैन जस्तो गरिरहेको आरोप लगाउनुभयो ।

दाहालको तर्फबाट वार्तामा खटाइएका र मध्यस्थकर्ताहरु अहिले सञ्चारमाध्यममा आफै बोलिरहेका छन् तर दाहालले कुनै सम्बन्धै नरहेको जस्तो गरिरहेको भन्दै  उहाँले भन्नुभयो, ‘२०६० साल पुस १८ गते राती सहमति भएपछि मात्रै ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रम १९ गते विराटनगरबाट देशभरि शुरु भएको हो ।’

सम्झौतामा के के थियो भन्दा पनि त्यतिबेला रुकुम, रोल्पामा तत्कालिन राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कसरी सम्भव भयो त्यसबाट पनि धेरै कुरो बुझिएको ओलीको भनाई छ ।

माधव नेपाल र दाहालले केही समयका लागि सूर्यमा ग्रहण लगाएको उहाँले बताउनुभयो । ‘कम्यूनिष्टको सरकार ढाल्न सफल भएकोमा उहाँहरु एकछिनका लागि खुशी हुनुभएको छ,’ उहाँले भन्नुभयो, ‘दक्षिणपन्थी, प्रतिगामी सरकार बनाउन पाएकोमा उहाँहरु खुशी हुनुभएको छ ।’ चीनले ओली र दाहाललाई पुनः मिलाउन खोजेको भनाई असत्य रहेको उहाँको भनाई थियो ।

Back to top button