सहिद स्मारक ए डिभिजनः हिमालयन शेर्पाको जीत

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले दोस्रो जित निकाल्दै अंक तालिकामा फड्को मारेको छ।

आज दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासललाई ३–१ गोल अन्तरले पराजित गर्दै शेर्पा लिग अंक तालिकामा ८ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाले खेलको २५ औं मिनेटमा मुटम्बाको गोलमार्फत खेलमा अग्रता लिएको थियो। कमल थापाको लामो पासलाई च्यासलका डिफेन्डरले क्लियर गर्न नसक्दा मुटम्बाले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको शेर्पाले दोस्रो हाफमा पुन मुटम्बाकै गोलमा अग्रता दोब्बर बनायो। मुटम्बाले त्रिदेव गुरुङको कडा प्रहारलाई च्यासलका गोलरक्षक अर्पण कार्कीले वानटच समाउन नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए।

७६ औं मिनेटमा रुमेश बर्तौलाले गोल गर्दै च्यासललाई २–१ को अवस्थामा पुर्‍याए। पेनाल्टी एरियाभित्र राजीव लोप्चनले उपलब्ध गराएको पासलाई अनमार्क रहेका रुमेशले गोल गरे। खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३–१ को अवस्थामा पुर्‍याए।

त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा शेर्पाले सहज जित हात पार्‍यो। च्यासलले ६ खेलमा ४ अंक जोडेको छ। च्यासल अंक तालिकाको १३ औं स्थानमा रहँदै रेलिगेशन जोनमा रहेको छ।

Back to top button