प्रदेश सरकारको भावनामा बहकिएका महत्वाकांक्षी न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम शनिबार सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतका प्रदेश सरकारका मन्त्रीहरुले उक्त कार्यक्रम सार्वजनिक गर्नुभयो ।

प्रदेश सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम यसअघि तत्कालिन एमाले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा नै उल्लेख्य भएका अधिकांश बुंदा रहेको छ । पाँच दलीय गठबन्धन कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थनमा कार्तिक १६ गते मुख्यमन्त्री बनेका राईले दोस्रो महिना बित्न लाग्दा बल्ल न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

प्रदेशमा कोरोना खोप लगाउन बाँकी रहेका बच्चादेखि वृद्धसम्म प्रत्येक व्यक्तिलाई आउँदो चैत्र मसान्तभित्र निःशुल्क खोप लगाउने न्यूनतम साझा कार्यक्रमको मुख्य क्षेत्रगत प्राथमिकता रहेको छ ।
‘प्रदेशको नामाकरणको विषयलाई उच्च प्राथमिकता दिने र सरकारको भौतिक संरचना निर्माण गर्छौं,’ न्यूनतम साझा कार्यक्रममा भनिएको छ, ‘कर्मचारीहरुलाई परिणाममुखी परिचालनको निमित्त पुरस्कार र दण्डको नीति अवलम्बन गरिनेछ ।’

प्रदेश सरकारको कामकाजको अनुगमन र मूल्यांकनका लागि उच्च स्तरीय संयन्त्र परिचालन गरेर तल्लो तहसम्म प्रदेशको प्रभावकारी सेवा प्रवाह गर्ने कार्यक्रममा भनिएको छ । कृषिमा तुलनात्मक लाभको क्षेत्रमा लगानी आकर्षित गर्ने, जैविक कृषिलाई प्रोत्साहन गर्ने, प्राकृतिक प्रकोपमा परेका व्यक्तिहहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापन प्रणालीको विकास गर्ने उल्लेख छ ।

संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनमा कटिबद्ध रहनुको साथै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवाललाई प्राथमिकतामा राख्ने प्रदेश सरकारको नीतिगत प्राथमिकता रहेको छ । संघीय र स्थानीय निकायस“गको समन्वयमा संघीयता कार्यान्वयनको बाँकी कार्यभार पुरा गर्ने उल्लेख छ ।

कोरोनाका कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायातलगायत अन्य सेवा, उद्योगहरूको उत्थान तथा प्रभावित श्रमजीवी तथा बेरोजगारका लागि राहतको विशेष आर्थिक प्याकेज व्यवस्था गर्ने साझा कार्यक्रममा भनिएको छ । उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय पूँजी निर्माणमा जोड, भ्रष्टाचारको छानबिन, चरम गरिबीको अन्त्य, आपूर्ति सुधार नियन्त्रणमा अग्रसरता लिने उल्लेख छ ।

प्रदेश विकासका लागि मुख्य तिन क्षेत्र आर्थिक, सामाजिक र वातावरणको सन्तुलित विकास गर्दै समन्यायिक वितरणमा जोड दिने र चुस्त–दुरुस्त सुशासन बाट नतिजामुखी प्रदेश सरकारको काम अघि बढाउने साझा कार्यक्रममा भनिएको छ ।

मुख्यमन्त्री राईले आफूहरुले ल्याएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । न्यूनतम साझा कार्यक्रमको लक्ष्य पूरा गर्न यसअघिका सरकारले ल्याएको बजेटमा भएको राजनीतिक लगायतका स्वार्थपूर्तिका लागि ल्याइएका नयाँ योजनाहरु कटौति गर्दै पुनरावलोकन गरेर स्रोत जुटाउने उहाँको भनाई थियो । उहाँले प्रदेश सरकारको आय स्रोत वृद्धिका लागि अध्ययन गरेर काम अघि बढाउने बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम ‘पाठ्यक्रम उही तर पढाउने शिक्षक परिवर्तन’ जस्तै भएको स्विकार्नुभयो ।

अर्थविद् डा. भेषप्रसाद धमलाले पाँच दलीय गठबन्धनको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हरेक क्षेत्रको भावनालाई समेटेर ल्याएकोले सही रुपमा कार्यान्वयन गर्न सकिए प्रदेशको आर्थिक उन्नयनमा ठूलो टेवा पुग्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, सुशासनलगायतका सबै क्षेत्रसमेटेर अत्यन्तै महत्वाकांक्षी न्यूनतम साझा कार्यक्रम ल्याइएकोले कार्यान्वयन चुनौतिपूर्ण भएको उहाँको भनाई छ । एक वर्षे आयु भएको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमको लक्ष्य पूरा गर्न नसक्ने निश्चित भएको धमलाले बताउनुभयो ।

‘न्यूनतम साझा कार्यक्रममा समेटिएका हरेक क्षेत्रका भावना प्रदेश सरकारलाई भाषण गर्न जहित सहज छ त्यति नै कार्यान्वयन पक्ष चुनौतिपूर्ण छ,’ धमलाले भन्नुभयो, ‘न्यूतम साझा कार्यक्रमले समेटेका क्षेत्रहरुमा काम गर्ने आधारशीला प्रदेश सरकारसँग छैन । न त त्यो अनुसारको संरचना छ न त स्रोत नै ।’

प्रदेश सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि अनुत्पादक क्षेत्रको खर्च कटौति गरी योजनाबद्ध रुपमा एकपछि अर्को कार्यक्रमलाई अघि बढाउँदै लगे थोरै भए पनि लक्ष्यमा पुग्न मद्दत पुग्ने धमलाको सुझाब छ ।

अर्का अर्थविद् पाँच दलीय गठबन्धनको सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम भावनामा रुम्लिएकोले कुनैपनि ठोस कार्यक्रम नभएको लक्ष्यविहिन र अमुर्त कार्यक्रम मात्रै भएको टिप्पणी गर्नुभयो ।

‘कुनैपनि कार्यक्रमको उद्देश्य, लक्ष्य र त्यो निश्चित समय सीमाभित्र प्राप्तीका लागि साधन र स्रोतको सुनिश्चितता हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘तर पाँच दलीय गठबन्धन सरकारले ल्याएको साझा कार्यक्रममा लक्ष्य, समय सीमा, साधन र स्रोतको सुनिश्चितता नगरी भावनामा बहकिएको छ ।’

न्यून्तम-साझा-कार्यक्रम जस्ताको त्यस्तै हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

न्यून्तम-साझा-कार्यक्रम

Back to top button