जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

विराटनगर । ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सम्पन्न भएको छ । विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताको शनिबार फाइनल खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा आयोजक विराट क्लबका मिलन नेम्वाङ र उत्तम सिमखडाको जोडी प्रथम, विराटनगरको राजधानी युवा क्लबका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडी दोस्रो, सलकपुर ब्याडमिन्टन क्लबका विष्णु आचार्य र अर्जुन कार्की तथा लक्ष्मीमार्गका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडी तेस्रो स्थान हासिल गर्नुभयो ।

त्यस्तै मेन्स डबलतर्फ विराटका उत्तम सिमखडा र भोजबहादुर गुरुङको जोडी प्रथम, पथरीका नवीन राई र होम गुरुङको जोडी दोस्रो, राजधानी क्लबका अजय चौधरी र शशी चौधरी तथा बेलबारीका सरोज खवास र लाक्पा शेर्पाको जोडी तेस्रो स्थान हासिल गर्नुभयो ।

क्लबकै आफ्नो कभर्ड हलमा शुक्रबार र शनिबार दुई दिने प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ ।

जसमा बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकले भाग लिएका छन् । प्रतियोगितामा मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, क्लबका अध्यक्ष समशेर राईलगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्नुभयो ।

खेलको मुख्य प्रायोजक रहेका अर्जुन तुम्रोक, दुर्गाप्रसाद तुम्रोक र ताराकुमार तुम्रोकले आफ्नो बुवाको स्मृतीमा प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष समशेर राईले जानकारी दिनुभयो ।

Back to top button