नेकपा माओवादी केन्द्रको महाधिवेशन आज: ११ राजनितिक दललाई निम्तो, एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।

यसअघि दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम भए पनि दुई घण्टा पछि धकेलिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न ११ राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको ढकालले जानकारी दिनुभयो । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन’ भन्ने नारासहित हुने उद्घाटन सत्रको प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनमा सहभागी हुन सातवटै प्रदेश र तीनवटा गैर–भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौं आइसकेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन्। उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुने माओवादी केन्द्रले जनाएको छ।

सम्मेलनमा कुल एक हजार ६ सय ३१ को सहभागिता रहने जनाइएको छ। नियमित प्रक्रियाबाट छानिएका १ हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कुल १ हजार ६ सय ३१ जनाको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १ सय ७९ सहभागी हुनेछन्। महाधिवेशनले नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ।

सहभागीलाई खाजाको मात्रै व्यवस्था गरेकोले प्रतिनिधिले खाने र बस्ने प्रबन्ध आफै गर्नुपर्ने छ । यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आए पनि माओवादीले हिजोमात्रै सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । जसलाई अहिले जारी केन्द्रिय कमिटीको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दललाई पनि निमन्त्रण पठाएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका ११ पार्टीलाई माओवादीले निमन्त्रणा गरेको जनाएको छ।

यसअघि एमालेले मंसिर १० मा गरेको चितवन राष्ट्रिय महाधिवेशनमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी हुनुभएको थिएन । भने आज माअ‍ोवादीको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत सहभागि नहुने निश्चित छ । हिजो मात्रै अध्यक्ष ओली तीन दिनका लागि गृहजिल्ला झापा पुग्नुभएको छ ।

यसैबिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन मार्फत एमाले अध्यक्ष ओलीलाई निम्तो दिनुभएको छ । उहाँको निम्तोलाई स्विकार्दै अध्यक्ष ओलीले आफू झापामा रहेकाले कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने जवाफ दिनुभएको छ ।

Back to top button