पहिलो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज मनाईँदै

काठमाडौं । पहिलो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज मनाईँदै छ । ज्येष्ठ नागरिकहरुको सम्मान तथा अधिकारको रक्षाका लागि यस दिवस मनाउन थालिएको हो ।

यस्तै, नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यस दिवस मनाउन लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।

उहाँले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिर्नुभएको छ ।

ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुनसक्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरूप्रति सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले यस दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको समेत बताउनुभएको छ ।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानुनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताउनुभएको छ ।

Back to top button