प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अब पौड्याललाई

काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लोकनाथ पौड्यालले पाउनुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो ।

यस निर्णयअनुसार राजेश्वर ज्ञवालीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। पदबहाली पछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले, भौतिक र वित्तीय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानुनसम्मत सेवा समयमा लिन पाउने नागरिक अधिकार सुनिश्‍चित गर्नुपर्ने बताउनुभयो ।

पदीय जिम्मेवारी पूरा गर्दै व्यक्तिगत प्रयासबाट समूहको हित हुने काम गर्नुपर्ने पौड्यालको भनाइ थियो। यस्तै, क्रममा प्रशासन विभागका प्रमुख महेश काफ्लेले स्वागत कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवा र स्थानीय प्रशासनमा प्रमुख प्रशासकीय अधिकृत पौड्यालको अनुभवबाट काठमाडौं महानगरको सार्वजनिक छवि बढाउनमा सहयोग पुग्ने बताउनुभयो।

२०५३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव हुनुभएको थियो । उहाँले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रहेर समेत काम गर्नुभएको थियो।

Back to top button