सम्मान गर्दै प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

काठमाडौं । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको छ ।

उहाँले नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावमा आजभोलि परिवार र समाजमा विभिन्न समस्याहरु उत्पन्न भइरहेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकहरुले अवहेलना र दुर्व्यवहार व्यहोर्नुपरेको भन्दै ज्येष्ठ नागरिकहरुलाई आघात पुर्‍याउने यसप्रकारका प्रवृत्तिहरूलाई निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गर्नुभयो ।

उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको र कानूनी र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार प्रदान हुने बताउनुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान गरेकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले यो नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको रुपमा स्मरण गरिने बताउनुभयो ।

उहाँले नेपाल सानो मुलुक भएपनि यहाँको परम्परा परिस्थिती, धर्म सँस्कृतिलाई सुहाउने गरेर ज्येष्ठ नागरिकहरुलाई गरिएको सम्मान नेपालको इतिहासलाई धन्य बनाएको बताउनुभयो ।

Back to top button