हत्याका आरोपी दासलाई गाउँलेले पक्राउ गरेर बुझाए प्रहरीलाई

रौतहट । रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । कटहरिया १ भसेढवाका सन्दीप यादवको हत्याको आरोपमा फरार ४० बर्षीय लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

सन्दीप यादवको हत्या गरेर फरार भएको आरोप लागेका दास गएराति लुकिछिपी घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा ढुकेर बसेका थिए ।
गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आउदै गर्दा हत्याका आरोपी दासलाई गाउँलेहरुले मोटरसाइकलसहित पक्राउ गरी सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएका थिए । त्यसपछि लगत्तै सशस्त्र प्रहरीले दासलाई नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रमुख असई संजय यादवले घटनाको पुष्टि गर्दै पक्राउ परेका हत्याका आरोपी दासलाई राति नै ईलाका प्रहरी कार्यालय बिजयपुर पठाईएको जानकारी दिनुभयो ।

Back to top button