किसानका माग बोक्दै सिके राउतको जनमत पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम

सिरहा । किसानका मागहरुलाई बोक्दै सिके राउत नेतृत्वको जनमत पार्टी सिरहा आन्दोलनमा उत्रिएको छ । जनमत पार्टीले सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको हो ।

पक्राउ परेका किसान रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

जनमतले आज सिरहामा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको छ । गत पुस ६ गते सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ किसानले लगेका थिए ।

वितरणमा ढिलाई भयो भन्दै लाइन बसेका किसानहरू जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने केहीमाथि मुद्दा चलाइएको छ । हिजो आन्दोलनकारीले दर्जनौं गाडीमा तोडफोड गर्नुको साथै केही गाडीमा आगजनीसमेत गरेका थिए ।

Back to top button