एमाले धनकुटाको अध्यक्षमा ४ जनाको दाबी, पराजुली र राईबीच कडा प्रतिस्पर्धा

धनकुटा । नेकपा एमालेका जिल्ला अधिवेशनहरु नजिकिँदै गर्दा अध्यक्षका दाबेदारहरुको संख्या पनि थपिदै गएको छ । पुष २३ गते एकै दिन एमालेले ७७ वटै जिल्लाका अधिवेशनहरु सम्पन्न गर्दैछ ।

यसक्रममा धनकुटा जिल्लाका अध्यक्ष राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भएपछि नयाँ आकांक्षीहरुले जिल्ला हाँक्ने इच्छा ब्यक्त गर्नुभएको छ । हालसम्म अध्यक्षमा प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, सामुदायिक बनको क्षेत्रबाट एमालेमा स्थापित हुनुभएका शिव आङ्ला र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले दाबी गर्नुभएको छ ।

यस्तै, ४ जनाको दाबी भए पनि विद्यार्थी राजनीतिबाट आउनुभएका राई र युवा संघको राजनीतिबाट आउनुभएका पराजुलीबीच नै प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । राई प्रदेश क्षेत्र नं १ र पराजुली २ बाट सांसद हनुहुन्छ ।

विगतको जिल्ला अधिवेशनमा राजेन्द्र राईसँग भिडेका पराजुली यस पटक आफू अध्यक्ष हुने कुरामा ढुक्क देखिनुहुन्छ भने निरन राई आगामी निर्वाचनहरुमा धनकुटाको विगतको वर्चश्वलाई कायम राख्न आफू नेतृत्वको टिमले मात्र सफल हुने दाबीका साथ अघि बढ्नु भएको छ ।

यस्तै, राईले पनि आफू अध्यक्ष हुने र पराजुलीलाई रोजेर त्यसभन्दा मुनीको पद लिन आग्रह गर्नुभएको छ भने पराजुलीले पनि राईलाई त्यही आफर दिनु भएकोे छ । नेताहरु गोपाल गुरागाईं र राजेन्द्र राईले जिल्लाको नेतृत्व सर्वसम्मत ढंगले नै चयन हुने बताउनुभएकोे छ ।

Back to top button