भाइबहिनीलाई मिलाउन नसक्दा सभापतिमा पराजित भएँ : कोइराला

विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले आफ्ना भाइबहिनी र नेताहरुलाई मिलाउन नसकेकोले पार्टी सभापतिमा हार व्यहोर्नु परेको बताउनुभयो ।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा कोइरालाले पार्टी महाधिवेशनमा कार्यकर्ताहरुले माया गरेको तर सभापतिमा पराजय आफ्नै कमजोरीले व्यहोर्नु परेको बताउनुभयो । बीपी कोइरालाले बुवा केशव कोइरालालाई पठाउनु भएको चिठ्ठीको मर्म भाइबहिनीले बुझ्न नसकेकोले अहिलेको स्थिति निर्माण भएको उहाँको भनाई थियो ।

पार्टीको सम्पन्न १४ औं महाधिवेशनमा कोइरालाको साथ छोडेर भाइ शशांक कोइराला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको र बहिनी सुजाता कोइराला अर्का सभापतिका प्रत्यासी प्रकाशमान सिंहको क्याम्पबाट उम्मेदवार भएका थिए । नेता रामचन्द्र पौडेल पनि कोइरालाको साथ छोडेर देउवालाई महाधिवेशनमा सघाएका थिए ।

‘समय, काल, परिस्थिति र कार्यकर्ताको भावनालाई लिएर अबको राजनीतिक यात्रा अघि बढाउँछौं,’ उहाँले भन्नुभयो, ‘अब आउँदो तीन तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउने अभियानमा लाग्यौं । त्यसैले पार्टीका सबै नता तथा कार्यकर्तालाई पनि निर्वाचन केन्द्रीत अभियानमा लाग्नु आवश्यक छ ।’ स्थानीय तहको निर्वाचनको मिति बैसाखमा प्रस्ताव भइसकेको र त्यसपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनेभएकाले त्यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको कोइरालाको भनाई थियो ।

पार्टीले २० औं नम्बरको मर्यादा क्रममा राखेको पत्रकारको जिज्ञासामा उहाँले आफ्नो मर्यादा क्रम कार्यकर्ताहरुले माया गरेर दिएको १ हजार ८५५ भोट भएको बताउनुभयो । ‘सभापति शेरबहादुर देउवा तथा केन्द्रीय कार्य समितिले के गर्यो त्यो पद्धतिको कुरा हो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसभित्र बीपी कोइरालाको पालादेखिको पद्धति सभापति देउवा एवं केन्द्रीय कार्य समितिले पछयाएन भने त्यसको विषयमा कार्यकर्ताले बोल्ने छन् ।’ आफूले कार्यकर्ता र पार्टीले दिएको दुई वटै मर्यादा क्रम स्विकारेर अघि बढ्ने उहाँले बताउनुभयो ।

Back to top button