बेनी–मालढुंगा सडक दैनिक ५ घण्टा बन्द हुने

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्ड स्तरोन्नतिका लागि दैनिक ५ घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा गत आइतबार बसेको सरोकारवालाहरुको बैठकले सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुस १५ देखि माघ १४ गतेसम्म दैनिक ५ घण्टा सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको हो।

यस्तै,प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको हो।

सवारी साधनको चापले सडक विस्तारको काम गर्न कठिनभएका कारण बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गर्नुभएको थियो।

उक्त समयमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ। बन्दका सयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।

Back to top button