माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य उचारका क्रममा चीनको सेन्जेनमा रहेका स्थायी कमिटी सदस्य पुनले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

उपमन्त्री झाओले भेटका क्रममा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिनुभएको पुनले ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो’ भेटपछि पुनले भन्नुभयो ।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जाने बताउनुभएको थियो । चिनिया उपमन्त्री झाओले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पनि चासो राखेको नेता पुनले बताउनुभयो ।

एमसीसीबारे अध्ययनका लागि सत्तारुढ गठबन्धनले कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुने गरी सरकार र गठबन्धन अघि बढ्ने बताउनुभएको थियो ।

यस्तै, १३ असोजमा उपचारका लागि थाइल्याण्डको बैंकक जानुभएका पुन स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुग्नुभएको थियो । १० मंसिरयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि द्विपक्षीय भेटवार्तामा गर्नुभएको हो ।

वंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराइरहनुभएका नेता पुनले चिकित्सकको सल्लाहपछि छिटै नेपाल फर्कने बताउनुभएको छ ।

Back to top button