सप्तकोशी डेभलपमेन्ट बैंकमा सिईओ सुवेदीले पारिवारिक सञ्जाल बनाएर १६ करोड हिनमिना

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नविन सुवेदीले परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको १६ करोड मुनाफा रहकम रेमिटान्सबाट आएको देखाएर हिनामिना गरेको छ ।

सिईओ सुवेदीले बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुखमा आफ् फूपुको छोरा हिमाल भट्टराईमार्फत रकम हिनामिना गरेको हो । सुवेदीले ठूलो बुवाकी छोरी झापाको गौरादहकी बबिता सुवेदीको नाममा भट्टराईलाई फर्जी खाता खोल्न लगाएर १४ करोड निकालेको देखिएको छ । बबिताको नाममा रहेको ९९९००००१५००१५ नम्बरको बचत खातामा आईएमई, प्रभू मनी ट्रान्स्फर, सिटी, आईपे, समसार र हिमाल रेमिटबाट सन् २०१६ देखि २०२१ अगस्त २ तारेखसम्ममा १४ करोड बढी रकम आएको देखाई भट्टराईले गैर कानुनी ढंगले निकालेको बैंकका एक कर्माचारीले बताउनुभयो ।

यस्तै, भट्टराईको उक्त बैंकमा रहेको ००१०००००३४०१८, ००१०००००१६०१९, ९९९००००६४४००१, ९९९०००००१३४२९ र ९९९०००००१९१२३ नम्बरको खातामा पनि रेमिटान्सबाट आएको भन्दै १ करोड बढी रकम निकालेको छ ।

दुबै जनाको बैंक खातामा आएको रकम रेमिटान्स पेड भएको कस्टमरवाइज पेड भएको स्टेटमेन्टमा रुजु गर्दा कुनै रेकिटान्सबाट कुनै किसिमको रकम नआएको देखिएको बैंकका कर्मचारीले बताउनुभयो ।
सिईओ सुवेदीले भाउजु भन्ने भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि बिभिन्न मितिमा ठूलो रकम जम्मा भएको छ । उक्त खाता सिईओ सुवेदी आफै फर्जी रुपमा खोली सञ्चालन गरेको बैंक कर्मचारीको भनाई छ ।

सिईओ सुवेदीले सालो साजन पोखरेलको ९९९००००८९२०१, जेठ्ठी सासु बानी पोखरेलको ९९९००००५३७०१५, बैंकका एचआर प्रमुख परमा काफ्लेको ९९९००००६८२०१० नम्बरको खातामा पनि अस्वभाविक रुपमा रकम जम्मा गरेर निकालेको बैंक कर्मचारीले बताउनुभयो । उक्त खाताहरु पनि खातावालभन्दा सिईओ सुवेदी आफै वा आफ्ना मान्छेलाई सञ्चालन गर्न लगाएर बैंकको रकम हिनामिना गरेको कर्मचारीको भनाई छ ।

बैंकको रकम हिनामिनामा बैंकका वित्तीय प्रमुख देवीप्रसाद भण्डारी, अप्रेशनल प्रमुख अमित थापा मगर, जीडीएस प्रमुख होमप्रसाद पौडेल, क्रेडिट प्रमुख विदुर पोखरेलको समेत संलग्नता रहेको अनुसन्धानमा संलग्न एक कर्मचारीले बताउनुभयो । क्रेडिट प्रमुख विदुर सिईओ सुवेदीको मामाको छोरा हो । वित्तीय प्रमुख भण्डारी र सिईओ सुवेदी यसअघि एक वित्तीय संस्थामा लामो समय सँगै काम गरेकाले नजिकका साथी हुन् ।

काबेली विकास बैंक धनकुटा र सप्तकोशी डेभलपमेन्ट विकास बैंक मोरङ २०५७ जेठ २२ गते गाभिएर सप्तकोशी डेभलपमेन्ट विकास बैंकको नामबाट वित्तीय कारोबार गर्दै आएको छ । दुई वटा बैंक गाभिएपछि बैंकका सञ्चालक समितिका तत्कालिन अध्यक्ष तारानाथ निरौला र सिईओ सुवेदी र काबेली विकास बैंकको टिमबीच बैंकको कारोबार व्यवस्थित बनाउने बारे विवाद हुँदै आएको एक कर्मचारीले बताए । बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभागमा बेनामी उजुरी दिए । उक्त उजुरीको आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम रेमिटान्सबाट आएको भन्दै सिईओ सुवेदीलगायतले हिनामिना गर्दै आएको रहस्य खुलेको हो ।

राष्ट्र बैंकको पत्र आएपछि तत्काल सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर स्वतन्त्र सञ्चालक अर्नुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकेको छ । सिईओ सुवेदीले आफैले जिएसडी प्रमुख भट्टराइविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए । प्रहरीले मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । भट्टराईमाथि पुस २ गते बैंकिङ्ग कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । सँगै नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेशन ब्यूरोले पनि अनुसन्धान गरिरहेकको बैंकले जनाएको छ ।

प्रहरीको हिरासतमा रहेका भट्टराईलाई बैंकका सिईओ सुवेदीले आफू एक्लैले उक्त सबै रकम हिनामिना गरेको र त्यसमा कसैको संलग्नता नभएको लगायतको कागजातमा सहीछाप गराएको भट्टराईका बुवा अम्बिका प्रसाद भट्टराईको आरोप छ ।

अम्बिकाले सिईओ सुवेदीले बैंकको रकम अनियमितता गर्न लगाएर अहिले आफ्नो छोरालाई मात्रै कानुनी कारबाहीमा फसाइरहेको आरोप लगाउनुभयो । उहाँले बैंक सञ्चालक समिति अध्यक्ष, सिईओ सुवेदीलगायतका कर्मचारीहरुको बैंकको रकम हिनामिनामा संलग्नता रहे पनि आफ्नो छोरालाई मात्रै फसाइरहेको गुनासो पोख्नुभयो ।

बैंकका सिईओ सुवेदीले हिमाल भट्टराईलाई प्रहरी हिरासतमा भेट्न गएको आरोपमा बैंकका कर्मचारी प्रसन्न ताम्राकारलाई काम गर्न रोक लगाएको बैंकका एक कर्मचारीले बताए । ताम्राकार जस्तै अझै केही कर्मचारीलाई काम गर्नमा रोक लगाएको बैंकले जनाएको छ । सुवेदीलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनु भएन ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय रहेका छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ ।
प्रहरी, सिआईबी र राष्ट्र बैंकले रकम हिनामिनाको विषयमा अनुसन्धान गरिरहेकोले अनुसन्धानबाट केही प्रतिवेदन बाहिर आएपछि मात्रै के कति रकम कस–कसले हिनामिना गरेको बारे भन्न सकिने बैंकको अध्यक्ष बरालको भनाई छ ।

Back to top button